मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत पाउँलान ? यस्तो छ अंक गणित

User Image Prime TV News एक महिना अगाडि
Image of मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत पाउँलान ? यस्तो छ अंक गणित

काठमाडौ । सर्वोच्च अदालतबाट जारी भएको परमादेशपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिने तयारीमा छन्।

अदालतले नेपाली कांग्रेससहित सात दलले दायर गरेको रिटमाथि निर्णय जारी गर्दै मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको थियो। अदालतको आदेशलाई मान्दै मुख्यमन्त्री यादवले दलहरूसँग परामर्श जारी रहेको र आफू विश्वासको मत लिन सक्षम हुने दाबी गरेका छन्।

उनले भने, “हामी तयारीमै छौँ, अदालतको आदेशअनुसार विश्वासको मत लिएर देखाउँछौँ।” तर प्रदेशसभाको शक्तिसन्तुलन भने मुख्यमन्त्रीविरुद्ध उभिएको छ। सर्वोच्चको आदेशसँगै नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी गरी सात दलीय गठबन्धनले नयाँ सरकार गठनकाे तयारी अघि बढाइसकेका छन्। यी सात दलसँग मधेश प्रदेशसभामा दुई-तिहाइभन्दा बढी, अर्थात् ७८ सांसद छन्।

यसले विपक्षी गठबन्धनलाई सहज बहुमत दिन्छ । जबकि मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट आधार देखिँदैन। मधेश प्रदेशसभामा १०७ सदस्य छन्। विश्वासको मत प्राप्त गर्न ५४ मत आवश्यक पर्छ। मुख्यमन्त्रीको पक्षमा एमालेका  २५ सांसद (एक जनासहित निलम्बित), नेपाल संघीय समाजवादी पार्टीको १, राप्रपाको १ (तर राप्रपाले मन्त्री कञ्चन बिच्छामाथि कारबाही अघि बढाइसकेकोले स्थिति अनिश्चित) सदस्य रहेका छन् ।

यस बाहेक ठूलो समर्थन आधार देखिएको छैन। तर यादवको विपक्षामा कांग्रेस २२, जसपा नेपाल  १८, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ८, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति १ सदस्य सहित जम्मा ७८ सांसद छन् । जुन संख्या विश्वासको मतको आवश्यकताभन्दा निकै धेरै हो । मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि मधेस प्रदेशमा फेरि सत्ता परिवर्तनको संकेत देखिएको छ ।