मुख्यमन्त्री यादवको अडानपछि मधेश प्रदेशसभा बैठक २ बजेका लागि सर्यो

User Image Prime TV News एक महिना अगाडि
Image of मुख्यमन्त्री यादवको अडानपछि मधेश प्रदेशसभा बैठक २ बजेका लागि सर्यो

काठमाडौ । मधेश प्रदेशसभामा विश्वासको मत सम्बन्धी राजनीतिक तनाव चुलिँदै गर्दा आजको प्रदेशसभा बैठक दिउँसो २ बजेका लागि सारिएको छ।

मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने प्रक्रिया दिउँसो २ बजे मात्र अघि बढाउने अडान लिएपछि बैठक स्थगित भएको हो। प्रदेश सभा सचिवालयले आज बिहान साढे ८ बजे नै विश्वासको मतका लागि बैठक बोलाएको थियो।

तर बैठक सुरु हुँदा मुख्यमन्त्री यादवसहित एमालेका धेरै सांसदहरू अनुपस्थित रहेपछि उपसभामुख बबिता कुमारी राउत ईशरले बैठकलाई २ बजेसम्मका लागि स्थगित गरिन्। बिहानै ८:३० बजे नै कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका सांसदहरू सभामा उपस्थित भइसकेका थिए। एमालेका केही सांसदहरू पनि सभाहलमा आए पनि मुख्यमन्त्री यादव करिब साढे १० बजेसम्म पनि प्रदेशसभा भवनमा पुगेका थिएनन्।

मुख्यमन्त्री यादवले प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै आज दिउँसो २ बजे नै विश्वासको मत लिने वातावरण बनाइदिन आग्रह गरेका थिए। तर हिजो साँझ बसेको सर्वदलीय बैठक र कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहान ८:३० बजे बैठक बस्ने सहमति गरेको थियो।

मुख्यमन्त्रीले समय निर्धारणप्रति असन्तुष्टि जनाउँदै भने, “विगतमा पनि मुख्यमन्त्रीहरूले पठाएको पत्रअनुसार बैठकको समय तोकिँदै आएको थियो। तर यसपटक विपक्षी दलको उक्साहटमा उपसभामुखले बिहानै बैठक राख्ने निर्णय भयो।” यादवको यही अडानपछि प्रदेशसभा बैठक २ बजे सारिएको हो।

उपसभामुख ईशरले पुनः बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि मुख्यमन्त्रीले मागेकै समयलाई आधार बनाएर बैठक २ बजेसम्म स्थगित गरिएको जानकारी दिइन्। सर्वोच्चको २४ घण्टे समयसीमा लागू भइरहेका बेला प्रदेशसभामा विश्वासको मत बस्न नसक्नुले राजनीतिक तनाव झन् बढाएको छ ।