मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेशसभामा विश्वासको मत लिने कार्यसूचीसहित बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।
सरोेच्च अदालतले सोमबार साँझ यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। सो आदेशअनुसार बुधबार बिहानै प्रदेशसभा बैठक बोलाइएको थियो। तर सत्तापक्षका केही सांसद अनुपस्थित भएपछि बैठककाे समय परिवर्तन गरी दिउँसो २ बजेकाे लागि सारिएको थियो।
दिउँसो बसेकाे बैठकमा पनि विश्वासको मत पाउने अवस्था नदेखिएपछि मुख्यमन्त्री यादवले पद छाड्ने घोषणा गरेका हुन्। उनले आफूले नेतृत्व गरेको सरकारलाई समर्थन गर्ने दलहरूभित्रै उत्पन्न परिस्थितिले विश्वासको मत लिन नसकिने अवस्था बनेको बताए।
सरोजकुमार यादव कात्तिक २३ गते संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशकै सात दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यही मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चले विश्वासको मत लिनुपर्ने आदेश दिएको थियो।
यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सत्ता समीकरणका लागि राजनीतिक दौडधुप तीव्र हुने संकेत देखिएको छ।













