माओवादी कर्णाली प्रदेश दलका नेता राजकुमार शर्माले दिए राजीनामा

User Image Prime TV News एक महिना अगाडि
Image of माओवादी कर्णाली प्रदेश दलका नेता राजकुमार शर्माले दिए राजीनामा

काठमाडौ । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता राजकुमार शर्माले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनले दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका हुन्। शर्मा पछिल्ला दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दूरी बढाउँदै आएका थिए। उनी जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ खुलेर झुक्किन थालेपछि कर्णाली माओवादी संगठनभित्र असन्तुष्टि बढ़ेको थियो।

आन्तरिक दबाब बढेपछि उनले संसदीय दलको नेतृत्वबाट हट्ने निर्णय गरेका हुन्। यद्यपि, उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन्। यसैबीच, माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक वीरेन्द्रनगरमा जारी छ। बैठकले शर्माविरुद्ध कारबाहीको तयारी गरेपछि उनले राजीनामा बुझाएको माओवादी प्रदेशसभा सदस्यहरूले बताएका छन्।

शर्मालाई दलसँग निरन्तर सम्पर्कमा नभएको भन्दै माओवादी संसदीय दलले प्रमुख सचेतक जिसीलाई मंसिर १८ गतेभित्र उनलाई सम्पर्कमा ल्याउने जिम्मेवारी दिएको थियो। सो समयसीमा नाघेपछि दलभित्रको असन्तुष्टि चर्किँदै गएको र आजको बैठकले कारबाही प्रक्रिया अघि बढाउने संकेत पाएपछि शर्माले दलको नेतृत्व छोडेका हुन्।

शर्माको राजीनामासँगै कर्णालीमा माओवादी केन्द्रको संसदीय नेतृत्व पुनर्सरचना हुने पक्का भएको छ।