मधेसमा नयाँ सत्ता समीकरणको तयारी, नयाँ सरकार गठनको प्रक्रिया सुरु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मधेस प्रदेशमा राजनीति फेरि नयाँ मोडतर्फ उन्मुख भएको छ। मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ।
सर्वोच्च अदालतले मंसिर १५ गते यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि आज प्रदेशसभा बैठक आह्वान गरिएको थियो। तर बैठक सुरु हुनुअघि नै सत्ता साझेदार दलहरूको अनुपस्थितिले यादव पक्षले बहुमत नपाउने स्पष्ट भएपछि उनले रोष्टममैबाट राजीनामाको घोषणा गरेका हुन्।
यादवले मन्तव्य दिइरहँदा विपक्षी सात दलका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएको दृश्यले पनि उनको सरकार टिक्न नसक्ने संकेत दिएको थियो। विश्वासको मत हासिल नहुने प्रस्ट भएपछि उनले स्वेच्छाले मार्ग प्रशस्त गर्ने घोषणा गरे। यादव कात्तिक २३ गते तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका नेताका रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए।
तर उनी अल्पमतको नेतृत्व भएकाले नियुक्ति असंवैधानिक भएको दाबी गर्दै सात दलका ७४ सांसदहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चको आदेशअनुसार भएको आजको बैठकमा विश्वासको मत लिन नसकेपछि यादवले आजै प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा पेस गर्ने बताए। यादवको राजीनामापछि मधेस प्रदेशमा अब नयाँ सत्ता समीकरण बनाउने दौडधुप सुरु भएको छ।
संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको समर्थन प्राप्त नेतालाई नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अब प्रदेश प्रमुखले अघि बढाउनेछन्। यससँगै मधेस प्रदेशमा कुन दलले गठबन्धन बनाएर अगुवा गर्ने हो भन्ने प्रश्नले राजनीतिक वृतमा नयाँ चर्चाको वातावरण बनेको छ।












