क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा

User Image Prime TV News ३ महिना अगाडि
Image of क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौ । भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माण तथा सञ्चालनमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको अभियोगपत्रमा महानिर्देशक अधिकारीसँगै पूर्व महानिर्देशक मुरारी भण्डारी, उपप्रबन्धक (इन्जिनियर) समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा तथा नलिञ्चोक हेलिप्याडसम्बन्धी ठेक्का प्रक्रियामा संलग्न कम्पनीका प्रतिनिधिहरूलाई समेत प्रतिवादी बनाइएको छ।

विशेष अदालतका अनुसार प्रत्येक प्रतिवादीमाथि १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी गरिएको छ। बिगो बराबरकै कैद र जरिवानाको सजाय मागदाबीसमेत अभियोगपत्रमा उल्लेख छ।

मुद्दा दायर गर्नुअघि अख्तियारले महानिर्देशक प्रदीप अधिकारी र पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पक्राउ गरेको थियो। दुवैजनालाई बुधबारै विशेष अदालतमा उपस्थित गराइएको छ भने अन्य प्रतिवादीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइने अख्तियारले जनाएको छ।