सेयरबजार लगातार दोहोरो ओरालोमा: नेप्से १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपालको सेयरबजार लगातार दोस्रो दिन पनि दबाबमा रहेको छ।
मंगलबार घटेको बजार बुधबार पनि ओरालो लाग्दै नेप्से १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ५ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा कुल १ करोड कित्ता सेयर किनबेच भएको थियो।
बजारमा ७४ कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनी उही मूल्यमा कारोबार भएको छ। आज सागर डिस्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जी ले १० प्रतिशतले सर्किट हान्दै लगानीकर्तालाई आकर्षक आम्दानी दिलाएका छन्।
सागर डिस्टिलरीको प्रति सेयर १७७.४० रुपैयाँ, मिथिला लघुवितको प्रति सेयर १५१ रुपैयाँ र झापा इनर्जीको प्रति सेयर ९७.६० रुपैयाँ कमाएकाे छ । यस्तै, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकका लगानीकर्ताले पनि आज लाभ कमाएका छन्। फाइनान्स, होटल–पर्यटन, उत्पादन–प्रशोधन र सामूहिक लगानी सूचक बढेका छन्। तर बैंकिङ, बीमा, ट्रेडिङ र अन्य धेरै सूचक राताम्य भएका छन् ।













