कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले सार्वजनिक गर्यो घोषणापत्र ( पूर्ण पाठ सहित )

User Image Prime TV News ३ महिना अगाडि
Image of कुलमान घिसिङ नेतृत्वको ‘उज्यालो नेपाल पार्टी’ ले सार्वजनिक गर्यो घोषणापत्र ( पूर्ण पाठ सहित )

काठमाडौ । कुलमान घिसिङको नेतृत्वमा स्थापना भएको उज्यालो नेपाल पार्टीले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले राजनीतिक स्थिरता, सुशासन, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न सात बुँदे संविधान संशोधन एजेन्डा अघि सारेको छ।

पार्टीले हालको राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै शासकीय संरचना र निर्वाचन प्रणालीमा आमूल परिवर्तन आवश्यक भएको निष्कर्ष निकालेको जनाएको छ। घोषणापत्र अनुसार, प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् हुने, प्रदेश परिषद् बनाउने र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको प्रतिनिधित्व सुनिश्चित गर्ने योजना रहेको उल्लेख गरेको छ ।

उज्यालो नेपाल पार्टीले समानुपातिक समावेशी निर्वाचन प्रणाली लागू गर्ने, न्यायपालिकामा दलीय हस्तक्षेप रोक्ने र स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुने व्यवस्था प्रस्ताव गरेको छ। मन्त्री नियुक्तिमा सांसद नभएका योग्य विज्ञलाई पनि अवसर दिने तर परराष्ट्र, गृह, कानून र रक्षा मन्त्रालय निर्वाचित सांसदलाई मात्र दिने व्यवस्था घोषणा गरिएको छ।

पार्टीले राजनीतिक स्थिरताका लागि प्रधानमन्त्री निर्वाचित भएपछि संसद्को आधा कार्यकालमा सरकार सञ्चालन सुनिश्चित गर्ने, एउटै निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार नहुने र समानुपातिक तथा मनोनीत सांसदको सुविधा एक पटकका लागि सीमित गर्ने प्रस्ताव राखेको छ।

घोषणापत्रमा कुलमान घिसिङले ‘चिलिमे मोडल’ र लोडसेडिङ अन्त्यको सफलतालाई प्रेरणाको आधार मानेर नेपाललाई आत्मनिर्भर अर्थतन्त्रतर्फ डोर्‍याउने प्राथमिकता रहेको बताइएको छ। पार्टीले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउने र राज्यको क्षमता बढाएर शिक्षा, स्वास्थ्य, आवास तथा पोषणलाई अनिवार्य दायित्वमा राख्ने योजनासमेत अघि सारेको छ।

पार्टीले सक्षम, इमानदार र मेधावी नागरिकहरूलाई आबद्ध गर्न आह्वान गर्दै, आफ्नो साङ्गठनिक संरचना चुस्त र प्रविधिमैत्री राख्ने र नेतृत्व उत्कृष्टताका आधारमा चयन हुने प्रतिज्ञा गरेको छ।