जनेजी आन्दोलनमा दमन गर्नेलाई कार्वाही गर्न प्रलोपाको माग

User Image Prime TV News एक महिना अगाडि
Image of जनेजी आन्दोलनमा दमन गर्नेलाई कार्वाही गर्न प्रलोपाको माग

काठमाडौ । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रधानमन्त्री सुशीला कार्की समक्ष आज ४ बुँदे मागपत्र बुझाएको छ। पार्टी अध्यक्ष सुदन किराती नेतृत्वको टोलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर ज्ञापनपत्र पेस गरेको हो।

ज्ञापनपत्रमा प्रमुखतया हालैको जेनजी जनआन्दोलनको म्यान्डेटलाई मान्यता दिन, आन्दोलनकारीसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न र भाद्र २३–२४ गतेको आन्दोलनका क्रममा राज्यद्वारा भएको दमनको न्यायिक छानबिन आयोगको प्रतिवेदन कार्यान्वयन गरी दोषीलाई कारबाही गर्न माग गरिएको छ। यसैगरी, सहिद र घाइते परिवारको उचित व्यवस्थापन र सुरक्षा निकायमा संरचनागत सुधार र समावेशिता सुनिश्चित गर्न आग्रह गरिएको छ।

आर्थिक र सामाजिक न्यायको क्षेत्रमा प्रलोपाले किसानलाई अनुदान र मलको समयमै व्यवस्था गर्न, सहकारी पीडितको पाँच लाखसम्मको बचत रकम क्षतिपूर्ति गर्न, मिटरब्याजी र लघुवित्त ठगी रोक्न र साना उद्यमीको ऋण पुनर्सरचना गर्नुपर्ने माग राखेको छ। वैदेशिक रोजगारी र विदेश पढाइका लागि प्रक्रिया सरलीकरण गर्न पनि पत्रमा जोड दिइएको छ। भ्रष्टाचार नियन्त्रणका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गर्न प्रलोपाले आग्रह गरेको छ।

त्यसैगरी, आगामी फागुन २१ को निर्वाचन निष्पक्ष बनाउन विदेशमा रहेका नेपालीले उतैबाट र देशका अन्य जिल्लामा रहेका मतदाताले आफ्नो स्थानबाट मतदान गर्न पाउने व्यवस्था मिलाउनुपर्ने, साथै १८ वर्ष उमेर पुगेका नागरिकले मतदानसँगै उम्मेदवार बन्न पाउने कानुनी सुनिश्चितता गर्नुपर्ने माग पत्रमा उल्लेख गरिएको छ।