गगन थापा १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आगामी पुस २७ गतेदेखि काठमाडौंमा हुने १५औँ महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
थापानिकट नेताहरूका अनुसार उनले सभापतिमा उठ्नका लागि टिम निर्माण र रणनीतिक तयारी सुरु गरिसकेका छन्। उनका सचिवालयका सदस्य शंकर कुइँकेलले भने, “गगन दाइले सभापतिका लागि तयारी गरिरहनुभएको छ। वर्तमान परिस्थितिमा नयाँ पुस्ताले खोजेको नेतृत्वका लागि उहाँ योग्य हुनुहुन्छ। यसपटक उहाँ सभापतिमा उठ्नुहुन्छ।”
थापा क्रियाशील सदस्यबीच देखिएका विवाद मिलाउने काममा पनि सक्रिय रहेको बुझिएको छ। बुधबार उनले सम्बन्धित बैठकमा समेत सहभागिता जनाएका थिए। हाल उनी आफ्नो टिम कस्तो बनाउने भन्ने विषयमा छलफलमा छन्। कुइँकेलका अनुसार, “टिम कस्तो बनिन्छ अहिले पूरै छलफल हुन पाएको छैन। तर सभापतिको उम्मेदवारबाट उहाँ पछि हट्नुहुने छैन।”
कांग्रेसको वर्तमान सभापति शेरबहादुर देउवा बिदा हुँदै छन् । संस्थापन इतरका नेताहरू डा. शेखर कोइराला र कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि बलिया दाबेदारका रूपमा प्रस्तुत छन्। आगामी दिनमा गगन र शेखरबीचको वार्ता र छलफलले सभापतिको अन्तिम उम्मेदवार तय गर्ने बताइएको छ।













