रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, मोदीसँग उच्चस्तरीय वार्ता गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of रुसी राष्ट्रपति पुटिन आज भारत आउँदै, मोदीसँग उच्चस्तरीय वार्ता गर्ने

काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारतमा औपचारिक भ्रमणका लागि आउने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुने यो भेटलाई दुई देशबीचको रणनीतिक साझेदारी मजबुत पार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

पुटिनले आफ्नो भारत बसाइका क्रममा २३औँ भारत–रूस वार्षिक शिखर सम्मेलनमा सहभागी हुने र प्रधानमन्त्री मोदीसँग विस्तृत द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ। दुवै नेताबीच क्षेत्रीय सुरक्षा, वैश्विक भू–राजनीतिक परिस्थिति, ऊर्जा तथा रक्षा सहकार्यजस्ता प्रमुख मुद्दामा कुराकानी हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

यसैगरी, राष्ट्रपति पुटिनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि औपचारिक भेट गर्ने तय गरिएको छ। मन्त्रालयका अनुसार भ्रमणले दुवै देशबीच दीर्घकालीन साझेदारीको समीक्षा गर्दै आगामी सहकार्यका नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ।

पुटिनको भारत भ्रमण डिसेम्बर २०२१ पछि पहिलो हो। सन् २०२३ मा नयाँ दिल्लीमा आयोजित जी–२० शिखर सम्मेलनमा पनि पुटिन सहभागी भएका थिएनन्। राष्ट्रपति पुटिनको यो यात्रा वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिमा भारत–रूस सम्बन्धको सन्तुलन र आगामी रणनीतिलाई स्पष्ट गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।