निर्वाचन घोषणा संगै के गर्दैछ, निर्वाचन आयोग ?


काठमाडौं । देशमा जारी राजनीतिक सङ्कटलाई समाधान गर्न गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते राष्ट्रिय निर्वाचन सम्पन्न गर्ने औपचारिक घोषणा गरेको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम प्रधानमन्त्री कार्कीको सिफारिसमा भदौ २७ गते संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेका थिए।
राष्ट्रपति पौडेलले शनिबार एक विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, समुदाय र नागरिकलाई बडो जुक्ति र संयमताका साथ आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन्। उनले वर्तमान संकटलाई अवसरमा परिणत गर्दै राष्ट्रिय एकता र स्थिरताका लागि सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले पनि आयोग निर्वाचनकालागि पूर्ण तयारी अवस्थामा रहेको बताएका छन् । उनले निर्वाचन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा आयोगभित्र र सम्बन्धित पक्षहरूसँग छलफल भइरहेकै भन्दै जनशक्तिको कमी र व्यवस्थापनका चुनौतीहरू रहेका कारण यी विषयमा दुईदेखि तीन दिनभित्र निष्कर्षमा पुग्ने बताए । यस्तै भण्डारीले मतदाता नामावली अद्यावधिक र अन्य तयारी कार्यतालिका बनाउन पनि आयोग सक्रिय रहेको बताएको छ ।
निर्वाचन तयारीसँगै देशमा राजनीतिक स्थिरता कायम गर्ने र लोकतन्त्रलाई सुदृढ पार्ने यो प्रयासलाई सबै पक्षले समर्थन गर्नु पर्ने भनी समिक्षकहरू बताउँदै आएका छन्। आगामी निर्वाचनले नेपालको संवैधानिक व्यवस्था र जनताको चाहना अनुसार नेतृत्व चयन गर्ने मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।