जसपाको निर्वाचन तयारी तीव्र, उम्मेदवार सिफारिसका लागि सर्कुलर जारी

User Image Prime TV News ३ महिना अगाडि
Image of जसपाको निर्वाचन तयारी तीव्र, उम्मेदवार सिफारिसका लागि सर्कुलर जारी

काठमाडौ । जनता समाजवादी पार्टी नेपालले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। पार्टीले केन्द्र, प्रदेश र जिल्ला संरचनालाई सर्कुलर जारी गर्दै प्रत्यक्ष र समानुपातिक दुबै तर्फका उम्मेदवारको नाम तोकिएको म्यादभित्र सिफारिस गर्न निर्देशन दिएको छ।

जसपा नेपालका महासचिव लालबाबु राउतका अनुसार निर्वाचन क्षेत्र समन्वय समितिले क्षेत्रीय भेलाबाट कम्तीमा तीन जना उम्मेदवार छनोट गरी पुस १० गतेभित्र जिल्ला समितिमा पठाउनु पर्नेछ। त्यसपछि जिल्ला समितिले प्रत्येक क्षेत्रबाट प्राप्त नाममध्ये कम्तीमा तीन जनाको सिफारिस पुस १५ गतेभित्र प्रदेश समितिमा पठाउने व्यवस्था गरिएको छ।

प्रदेश समितिले जिल्लाबाट आएको सूचीमाथि छलफल गरी प्रत्यक्षतर्फ कम्तीमा तीनजनाको नाम पुस २० गतेभित्र केन्द्रमा पठाउनुपर्नेछ। यसरी चरणबद्ध रूपमा सुझाव र सिफारिस संकलन गरी अन्तिम सूची केन्द्रमा तयार गरिने पार्टीले जनाएको छ।

समानुपातिक प्रणालीका लागि पार्टीले छुट्टै समयसीमा तोकेको छ। जिल्ला समितिहरूले जातीय क्लस्टरअनुसार समावेशीता सुनिश्चित गर्दै कम्तीमा तीन पुरुष र तीन महिला उम्मेदवारको नाम पुस १ गतेभित्र प्रदेशमा पठाउनुपर्नेछ। त्यसपछि प्रदेश समितिले प्राप्त नामावलीमाथि निर्णय गर्दै पुस ५ गतेभित्र केन्द्रीय कार्यालयमा पठाउनेछ।