कांग्रेसको निर्देशन : रष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा बहाल रहेका जनप्रतिनिधिहरूलाई उम्मेदवार बनाउने अनुमति छैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा हाल बहाल रहेका जनप्रतिनिधिहरूलाई उम्मेदवारको रूपमा सिफारिस नगर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालयले मङ्सिर १५ मा जारी गरेको परिपत्रमा २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीतर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने अनुमति नहुने स्पष्ट गरिएको थियो। यसलाई अझ प्रष्ट पार्दै कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार नयाँ परिपत्र जारी गरे।
परिपत्र अनुसार, “राष्ट्रियसभामा हाल बहाल रहनुभएका सांसदहरू र प्रदेशसभामा हाल बहाल रहेका सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन।” साथै, २०७९ को प्रदेशसभा निर्वाचनको समानुपातिक बन्द सूचीमा समावेश उम्मेदवारहरूको नाम पनि सिफारिस गर्न नपाइने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि मातहतका पार्टी निकायलाई एक महिलासहित तीन जना, समानुपातिकतर्फ समावेशी सिद्धान्त अनुसार कम्तीमा एक महिलासहित दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको छ। राष्ट्रियसभा निर्वाचनका लागि एक सिटमा तीन जनाको नाम सिफारिस गर्न परिपत्रमा स्पष्ट व्यवस्था गरिएको छ।












