महाधिवेशनअघि शक्ति–समिकरण तीव्र, पोखरेल टिम गण्डु पुगेर ओलीसँग छलफल

User Image Prime TV News एक महिना अगाडि
Image of महाधिवेशनअघि शक्ति–समिकरण तीव्र, पोखरेल टिम गण्डु पुगेर ओलीसँग छलफल

काठमाडौ । नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै जाँदा शीर्ष नेतृत्वबीचको प्रतिस्पर्धा खुलेर सतहमा आउन थालेको छ। अध्यक्ष पदका मुख्य दाबेदारका रूपमा देखिएका नेता ईश्वर पोखरेल नेतृत्वको समूह गण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग महत्वपूर्ण राजनीतिक संवादमा बसेको छ।

पोखरेलसँगै अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र योगेश भट्टराई पनि छलफलमा सहभागी थिए। करिब तीन घण्टासम्म चलेको भेटवार्तामा महाधिवेशनको तयारी, नेतृत्व चयन र सम्भावित सहमतिको आधारबारे विस्तृत कुराकानी भएको बताइएको छ ।

आगामी महाधिवेशनमा तेस्रोपटक अध्यक्ष बन्ने घोषणा गरिसकेका ओलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रत्यक्ष चुनौती दिँदै टिम निर्माणको काम अघि बढाइरहेका छन्। तर, दुवै पक्षमा समर्थन जुटाउने प्रयास जारी रहेकाले नेताहरू खुला रूपमा कहाँ उभिने भन्ने स्पष्ट हुन बाँकी छ।

ओलीले अन्तिम क्षणमा टिम घोषणा गरेर धेरै नेताहरूलाई आफ्नो पक्षमा राख्ने रणनीति अपनाइरहेको बताइन्छ। उता पोखरेल समूह पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थन पाएर थप सक्रिय बनेको छ। पूर्वराष्ट्रपति भण्डारीले आफूलाई एमालेले सदस्यता नदिएपछि नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै आएकी छन्। उनले पोखरेललाई सर्वसम्मत अध्यक्ष बनाउने भद्र सहमति ओलीले तोडेको दाबीसमेत सार्वजनिक रूपमा गरिसकेकी छन्।