सभापति देउवाको निर्देशन: महाधिवेशन तोकिएको मितिमा नै हुन्छ

User Image Prime TV News एक महिना अगाडि
Image of सभापति देउवाको निर्देशन: महाधिवेशन तोकिएको मितिमा नै हुन्छ

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुस २६–२८ मा हुने १५औं महाधिवेशनलाई सफल र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै नेता–कार्यकर्ता उत्तरदायी बन्नुपर्ने बताएका छन्।

बिहीबार निवासमा नियमित महाधिवेशन पक्षधर युवा नेतासँगको भेटमा देउवाले महाधिवेशन पार्टी संगठनलाई एकत्रित गर्ने प्रमुख अवसर भएकाले युवाको भूमिका निर्णायक हुने उल्लेख गरे। “महाधिवेशनलाई सफल बनाउन युवाको भूमिका अत्यन्त महत्वपूर्ण छ,” बैठकपछि युवा नेता सरोज थापाले देउवाको भनाइ उद्धृत गर्दै बताए।

देउवाले पार्टी नियमित महाधिवेशनको प्रक्रियामा अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशनको चर्चा अहिले असान्दर्भिक रहेको स्पष्ट गरे। उनले युवालाई भ्रान्ति र भ्रम फैलाउने गतिविधि चिर्दै संगठन सुदृढीकरणमा जुट्न निर्देशन पनि दिए।

भेटका क्रममा युवा नेताहरूले तय भएको समयमा नै महाधिवेशन सम्पन्न गर्न, वडादेखि केन्द्रसम्म पार्टी पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रिया तीव्र बनाउन तथा महाधिवेशनमा युवाको प्रभावशाली उपस्थिति सुनिश्चित गर्न आग्रह गरे।

युवाहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाको आगामी निर्वाचनमा स्वच्छ छवि र पारदर्शी आर्थिक पृष्ठभूमि भएका युवा तथा नयाँ अनुहारलाई प्राथमिकतामा राखेर अघि सार्न पनि माग राखेका थिए।

भेटमा कांग्रेस बागलुङका सभापति जीत शेरचन, नेविसंघका पूर्वउपाध्यक्ष पुष्प शाही, पूर्वमहामन्त्री सरोजकुमार थापा, पूर्वकेन्द्रीय सदस्य थलकुमार लिङ्खा, केन्द्रीय सदस्य मनिषजंग थापा, गीता गुरुङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य तीर्थ गौतम, इन्दु शर्मा, किसान नेता अन्जान लामालगायत युवा नेताहरू सहभागी थिए।