एमाले नेताहरूको दबाब: प्रतिनिधि छनोट विवाद टुंग्याउन सचिवालय बैठक तत्काल बोलाउन आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले नेताहरूको दबाब: प्रतिनिधि छनोट विवाद टुंग्याउन सचिवालय बैठक तत्काल बोलाउन आग्रह

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसहितका शीर्ष नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र बढ्दो विवाद समाधान गर्न तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेका छन्।

बिहीबार भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेका उनीहरूले प्रतिनिधि छनोटमा देखिएको समस्या मिलाउन नेतृत्वको तत्काल पहल आवश्यक रहेको बताएका हुन्। बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलसँगै उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई सहभागी थिए।

उनीहरूले ओखलढुंगा, धनकुटासहित विभिन्न जिल्लामा प्रतिनिधि छनोटका क्रममा केन्द्रबाट फरक–फरक निर्देशन पठाइनुले विवाद झनै चर्किएको भन्दै असन्तुष्टि व्यक्त गरे। नेताहरूले निर्देशन प्रक्रियामा एकरूपता ल्याएर विवादित क्षेत्रका मुद्दा छिटो टुंग्याउन माग गरेका छन्।

“थुप्रै स्थानमा प्रतिनिधि छनोटका विषयमा अन्यौलता छ। विभिन्न ठाउँमा फरक आदेश पठाइनुले समस्या थपिएको छ। यसलाई तत्काल एकरूपता दिइनुपर्छ भन्ने हाम्रो आग्रह हो,” भेटमा सहभागी एक नेताले बताए। पार्टीको १० औं महाधिवेशन नजिकिँदै गर्दा विवाद समाधान नहुँदा तयारी प्रभावित भएको नेताहरूको धारणा छ।

महाधिवेशन व्यवस्थापनदेखि निर्वाचन प्रक्रिया कसरी अघि बढाउने भन्ने विषयमा पनि सचिवालयले शीघ्र निर्णय गर्नुपर्ने उनीहरूको जोड छ। अध्यक्ष ओलीले सचिवालय बैठक बस्नुपर्नेमा सहमति जनाए पनि बैठकको मिति भने स्पष्ट गरेका छैनन्। यसैबीच, महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आधिकारिक रूपमा आफ्नो उमेदवारी घोषणा गरिसकेका छन्।