नख्खु कारागारबाट रवि लामिछानेले भनेः राज्यले प्रतिशोध साँधेको छ, जेनजी आन्दोलनलाई पूर्ण समर्थन
Prime TV News ३ महिना अगाडि 
काठमाडौ । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो गिरफ्तारी र वर्तमान स्थितिलाई राज्यको प्रतिशोध भन्दै असन्तुष्टि प्रकट गरेका छन्।
जेनजी अभियन्ता सुदन गुरुङसँग आज कारागारमा भएको भेटमा लामिछानेले आफूलाई परेको अन्यायका विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरेका हुन्। भेटपछि जानकारी दिँदै अभियन्ता गुरुङले भने, “उहाँले आफूमाथि अन्याय भएको र यसको विरुद्ध लड्नुपर्ने कुरा गर्नुभयो। राज्यले प्रतिशोधका आधारमा आफूलाई टार्गेट गरिएको उहाँको भनाइ थियो।”
भेटमा लामिछानेले जेनजीहरूद्वारा चलाइएका माग र आन्दोलनलाई रास्वपाले पूर्णरूपमा समर्थन गर्ने बताएका छन्। गुरुङका अनुसार लामिछानेले भने, “हामी जेनजीको साथमा छौँ। युवाहरूको अभियान र आन्दोलनमा हाम्रो पूर्ण समर्थन रहनेछ।” गुरुङका अनुसार भेट करिब एक घण्टा चलेको थियो ।
जसमा समसामयिक राजनीतिक परिस्थिति, युवा आन्दोलनको प्रभाव र वैकल्पिक राजनीतिक शक्तिहरूमध्ये एकताको सम्भावनाबारे पनि छलफल भयो। रास्वपा सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले भेटका लागि वातावरण बनाउन आफूले सहयोग गरे पनि वार्तामा सहभागी नभएको बताए।
“भित्र त म गइनँ। भेट्ने व्यवस्था मिलाउन आग्रह भएपछि भेट भएको हो। साढे २ बजेदेखि भेट भएको थियो,” आचार्यले बताए।












