चुनाव काउन्टडाउन: फागुन २१ निर्वाचनको तयारी तिव्र

User Image Prime TV News एक महिना अगाडि
Image of चुनाव काउन्टडाउन: फागुन २१ निर्वाचनको तयारी तिव्र

काठमाडौ । फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अब ९० दिन मात्र रहेको छ । चुनाव नजिकिँदै जाँदा देशको राजनीतिक वातावरण तातिन थालेको छ ।

निर्वाचन आयोग कागजी प्रक्रियादेखि मतपत्र छपाइसम्मका तयारीलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ। दलहरू छुट्टै तर आफ्नै शैलीमा व्यस्त छन् ।

कसैले उम्मेदवार खोज्दै छन्, कसैले गठबन्धनका सूत्र गाँस्दै, कसैले रणनीति मिलाउँदै । आयोगले शनिबारदेखि समानुपातिक प्रणाली सम्बन्धी कार्ययोजना औपचारिक रूपमा सुरु गरिरहेको छ।

मङ्सिर २१ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राजनीतिक दलले समानुपातिकतर्फ आवेदन दिनुपर्नेछ र उक्त आवेदनको सूची मङ्सिर २४ मा सार्वजनिक गरिनेछ।

यसपछि दलहरूलाई पुस १३ र १४ गते बन्दसूची बुझाउन तोकिएको छ ।  माघ ३० गते समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक हुँदैछ । प्रत्यक्षतर्फ माघ ६ गते मनोनयन दर्ता हुनेछ र सोही दिन पहिलो सूची पनि प्रकाशित हुनेछ।

विरोध उजुरीका लागि माघ ७ तोकिएको छ भने माघ ८ मा अद्यावधिक नामावली बाहिर आउनेछ। माघ ९ उम्मेदवारी फिर्ता लिन सकिने अन्तिम दिन हो। त्यसपछि सार्वजनिक हुने अन्तिम नामावलीसँगै उम्मेदवारहरूलाई चुनाव चिह्न वितरण गरिनेछ ।

अब देश चुनावतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। ९० दिनपछि जनताले फेरि मतपत्रमार्फत सत्ता, नीति र भविष्य चयन गर्नेछन्।