सुशीला कार्कीलाई चीनको बधाई
Prime TV News एक बर्ष अगाडि 
काठमाडौँ । चीनले नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले सेप्टेम्बर १२ मा आयोजित नियमित पत्रकार सम्मेलनमा सो टिप्पणी गरेका हुन्।
पत्रकारद्वारा “सेप्टेम्बर १२ मा नेपालकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको छ। यस विषयमा चीनको धारणा के छ?” भन्ने प्रश्नको जवाफमा प्रवक्ताले चीनले कार्कीलाई बधाई दिएको जानकारी गराएका हुन्।
उनले भने, “चीन र नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको छ। चीनले सधैं नेपालका जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्दछ। हामी शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई पालना गर्दै, विभिन्न क्षेत्रहरूमा सहयोग र आदानप्रदान विस्तार गर्न तथा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नेपालसँग मिलेर काम गर्न तयार छौँ।”
नेपालको राजनीतिक परिप्रेक्ष्यमा यो परिवर्तनलाई चीनले सकारात्मक रूपमा हेरेको संकेत प्रवक्ताको भनाइबाट प्रष्ट भएको छ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सेप्टेम्बर १२ मा नेपालका लागि अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त भएकी हुन्। देशमा जारी राजनीतिक सहमतिको प्रक्रियामा संक्रमणकालीन व्यवस्थापनका लागि कार्कीको नियुक्ति गरिएको हो।







