दुई पटक विज्ञापन खुल्दा पनि उपकुलपति नआएपछि मन्त्री पुनको अपील: देशभक्त सन्तान अघि आउनुहोस

User Image Prime TV News एक महिना अगाडि
Image of दुई पटक विज्ञापन खुल्दा पनि उपकुलपति नआएपछि मन्त्री पुनको अपील: देशभक्त सन्तान अघि आउनुहोस

काठमाडौ । दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि लगातार दुई पटक विज्ञापन खुल्दा पनि कुनै उम्मेदवार नआएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि प्रकट गरेका छन्।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत योग्य तथा इच्छुकलाई पदका लागि निवेदन दिन आग्रह गर्दै स्वास्थ्य क्षेत्रका अनुभवी विज्ञ अभाव हुनु चिन्ताजनक भएको टिप्पणी गरेका छन्। उनका अनुसार विश्वविद्यालयले उपकुलपति पदका लागि दुई पटक सूचना जारी गरिसक्दा पनि एक जनाले समेत निवेदन नदिँदा प्रक्रिया रोकिएको छ।

उनले भने, “सुदूरपश्चिम प्रदेश धनगढी नजिकै रहेको दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको लागि उपकुलपति पदको विज्ञापन २ पटकसम्म गर्दा पनि कसैको निवेदन परेन।” योग्य जनशक्तिलाई मातृभूमिको सेवा गर्न आह्वान गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्रमा प्रा.डा. उपाधि प्राप्त र कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिलाई आवश्यक योग्यता पूरा हुने उल्लेख गरेका छन्।

उनले थपेका छन्, “यदि नेपाल आमाका कुनै इच्छुक, योग्य र देशभक्त सन्तान हुनुहुन्छ भने कृपया निवेदन दिनुहोस्, अथवा मलाई नै सम्पर्क गर्नुहोस्।” मन्त्रालयका अधिकारीहरूका अनुसार योग्य उम्मेदवार अभावका कारण पदपूर्तिमा ढिलाइ हुनुले विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्वमा असर पर्न सक्ने भएकाले सरकारले पनि समाधानका विकल्प खोजिरहेको छ।