कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणबारे आज सानेपामा छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया अघि बढाउने उद्देश्यले आज शुक्रबार पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनसँग संयुक्त छलफल गर्न लागेको छ।
महामन्त्री गगन थापाको नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सम्बन्धित संगठनका पदाधिकारीलाई दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा उपस्थित हुन आह्वान गरेको हो। समिति सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार छलफलको मूल उद्देश्य सदस्यता वितरणलाई राष्ट्रिय अभियानका रूपमा रूपान्तरण गर्नु र संगठन विस्तारलाई व्यवस्थित बनाउनु रहेको छ।
यससँगै कांग्रेसले आगामी १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेपछि सदस्यता अद्यावधिक र वितरण प्रक्रियामा थप चहलपहल बढेको छ। बुधबार बसेको समिति बैठकले दुई दिनभित्र सबै १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याउने निर्णय गरेको थियो।
महामन्त्री थापा नेतृत्वको चार सदस्यीय समितिमा स्नेहीसँगै सीता गुरुङ र योगेन्द्र चौधरी सदस्यका रूपमा रहेका छन्।













