पुटिनलाई ‘गीता’ उपहार: मोदी–पुटिन भेटले भारतरूस सम्बन्ध अझ सुदृढ

User Image Prime TV News एक महिना अगाडि
Image of पुटिनलाई ‘गीता’ उपहार: मोदी–पुटिन भेटले भारतरूस सम्बन्ध अझ सुदृढ

काठमाडौ । भारत र रूस कूटनीतिलाई नयाँ ऊर्जा दिने संकेतसहित रूसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली पुगे। राष्ट्रपति पुटिनको स्वागत स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले पालम एयरपोर्टमा गरे ।

जहाँ दुबै नेताबीच गर्मजोशीपूर्ण भेटघाट भयो। एयरपोर्टमा औपचारिक स्वागत सम्पन्न भएपछि पुटिन र मोदी एउटै गाडीमा बसेर प्रधानमन्त्रीको सरकारी आवासतर्फ प्रस्थान गरेका थिए । जसलाई उच्चस्तरीय आतिथ्यको प्रतीकका रूपमा हेरिएको छ।

भेटका क्रममा प्रधानमन्त्री मोदीले पुटिनलाई विशेष उपहार प्रदान गरे, रूसी भाषामा अनूदित ‘श्रीमद्भागवद् गीता’। मोदीले सोशल प्लेटफर्म एक्समा लेख्दै भने, “राष्ट्रपति पुटिनलाई रूसी भाषामा अनूदित गीताको एक प्रति प्रदान गरें। गीताको शिक्षाले विश्वभर लाखौं मानिसहरूलाई प्रेरणा दिएको छ र दिनेछ।”

पुटिनको यो भ्रमणलाई भारतले रणनीतिक साझेदारी अझ गहिरो बनाउने अवसरको रूपमा लिएको छ। ऊर्जा, सुरक्षा, रक्षा सहयोगदेखि व्यापार विस्तारसम्मका विषयमा दुवै देशबीच उच्चस्तरीय छलफल हुने अपेक्षा गरिएको छ।

भारत र रुस सम्बन्ध ऐतिहासिक रूपले स्थिर रहेको अवस्थामा शीर्ष नेतृत्वको यस्तो प्रत्यक्ष भेटले निकट भविष्यमा द्विपक्षीय सहकार्यका नयाँ आयामहरू थप खुल्ने मूल्याङ्कन गरिएको छ ।