नागरिक अगुवाहरुले भनेः सबैको अर्जुनदृष्टि फागुन २१ को आमनिर्वाचन

User Image Prime TV News एक महिना अगाडि
Image of नागरिक अगुवाहरुले भनेः सबैको अर्जुनदृष्टि फागुन २१ को आमनिर्वाचन

काठमाडौ । नागरिक अगुवाहरुले मुलुक अहिले गम्भीर चुनौतीमा रहेको भन्दै यसलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी सरकार, राजनीतिक दल र प्रत्येक नागरिकमा रहेको बताएका छन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि “राज्य कमजोर बनेको संवेदनशील घडीमा, निर्वाचनको म्यान्डेट लिएर बनेको सरकारमाथि म्यान्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहीत राजनीतिक, समूहगत वा व्यक्तिगत एजेन्डा अघि सार्ने, अवरोध सिर्जना गर्ने तथा अनावश्यक भ्रम र आशंका फैलाउने गतिविधिले राष्ट्रलाई अझ कमजोर बनाउने निश्चित छ।”

नागरिक अगुवाहरुले सबैलाई फागुन २१ को आम निर्वाचनमा सहभागी हुन र लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन आग्रह गरेका छन्।

नागरिक समाजको साझा सार्वजनिक अपिलः–

वि. सं. २०८२ मंसिर १८
गत भदौ २३ र २४ को जेन्जी (नवयुवा) आन्दोलन पछि देश एक संवेदनशील एवं जटिल मोडमा उभिएको छ। यस गम्भीर चुनौतीबाट मुलुकलाई स्थिरता र लयमा फर्काउने जिम्मेवारी नेपाल सरकार, राजनीतिक दल, नवयुवा समेत  हामी प्रत्येक नागरिकको  पनि हो।
राज्य कमजोर बनेको यो संवेदनशील घडीमा, निर्वाचनको म्याण्डेट लिएर बनेको सरकारमाथि उसको म्याण्डेट र क्षमताभन्दा बाहिरका माग राख्ने, निहित राजनीतिक, समुहगत वा व्यक्तिगत एजेण्डा अघि सारेर अवरोध गर्ने र अनावश्यक भ्रम छर्ने तथा आशंका फैलाउने गतिविधिहरूले राष्ट्रलाई झनै कमजोर बनाउने निश्चित छ। 
हामी सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ यदि यो सरकार असफल भयो र निर्धारित मितिमा निर्वाचन हुन सकेन भने त्यसपछि उत्पन्न हुने रिक्तता र अनिश्चितताको अवस्था देशका लागि कति गम्भीर र दुरगामी हुन सक्छ । 
तसर्थ, नेपालको संबिधान र यसबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै जेन्जी (नवयुवा) आन्दोलनको तारो बनेको भ्रष्टाचार, नातावाद, कृपावाद, कुशासन जस्ता देशका दुस्मन प्रवृत्तिको अन्त्य गर्दै मुलुकलाइ असल शासनको बाटोमा लैजान र राष्ट्रलाइ थप अप्ठेरोमा नपारी  सबैको अर्जुनदृष्टि २०८२ फागुन २१ गते हुने आम निर्वाचनमा केन्द्रित गर्न हामी आव्हान गर्दछौं। निर्वाचनका माध्यमबाट मात्रै संवैधानिक प्रक्रिया जीवन्त रहने र राजनीतिक दलहरूले अर्थपूर्ण गति पाउने बाटो निर्विघ्न रहन्छ।
यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार र निर्वाचन आयोगसंग हामी विशेष आग्रह गर्दछौं । सफल निर्वाचनमै यो सरकारको औचित्य पुष्टि हुने सत्यतालाई मनन गर्दै सरकारको प्रयास र कामकारवाही त्यसमै केन्द्रित होस् र बन्दै गएको निर्वाचन वातावरणलाई प्रतिकुल असर पार्न सक्ने कुनै कार्य नहोस् भनी हामी खबरदारी समेत गर्दछौं।  
हामी आम नागरिक, राजनीतिक शक्ति, नागरिक समाज, सञ्चार माध्यम, जेनजी (नवयुवा) वर्ग, विभिन्न पेसाकर्मी तथा सबै जिम्मेवार पक्षहरुसंग — देशको स्थिरतासंग जोडिएको २०८२ फागुन २१ गतेको निर्वाचनलाई सफल, स्वच्छ र निष्पक्ष बनाउनका लागि सहयोगी भुमिका निर्वाह गर्न अपिल गर्दछौँ ।