जेनजी आन्दोलनका क्रममा कैलालीमा मात्र १ सय ८ सरकारी भवन र ६ सय सवारीसाधनमा आगजनी


कैलाली । जेनजी आन्दोलनको क्रममा कैलालीमा मात्र १ सय ८ सरकारी भवन र ६ सय सवारीसाधनमा आगजनी भएको छ । गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका थिए ।
प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा रहेका नेपाल टेलिकम, विद्युत, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका र नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।
ती बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा आगजनी गरिएको छ भने सवारी साधन समेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुरलगायतका ठाउँमा रहेका सरकारी संरचनामा समेत क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर १०८ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर ६०० वटा सवारीसाधन समेत जलाइएको छ ।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार १ सय ८ सरकारी कार्यालय भवन, १ सय वटा चार पाङ्ग्रे गाडी र ५ सय जति मोटरसाइकल आगजनीले नष्ट भएका छन् । त्यस्तै ८ वटा पार्टी कार्यालय र नेताका निजी घर समेत जलाइएका छन् ।
क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । शनिबार सरसफाइ गरेको प्रशासनले आइतबारदेखि टेन्ट गाडेर सेवा प्रवाह गरेको छ ।
आगजनीपछि कैलाली जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकार अन्तर्गतका प्रायः सबै निकायको कामकाज रोकिएका छन् । अवस्था समान्य बन्दै जान थालेपछि ती कार्यालयहरुले समेत सेवा प्रवाहका लागि वैकल्पिक उपायको खोजी गर्न थालेका छन् ।