राप्रपाले यहि २३ गते काठमाडौंमा प्रदर्शन गर्ने, सबैलाई राष्ट्रिय झन्डा तिर एकजुट हुन आह्वान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी २३ गते काठमाडौंमा आयोजना गर्न लागेको प्रदर्शनमा सबैलाई सहभागी हुन आह्वान गरेको छ।
पार्टीका आन्दोलन कमाण्डर ज्ञानेन्द्र शाहीले आज पत्रकार सम्मेलनमार्फत सबै पक्षलाई राप्रपा मात्र नभई राष्ट्रिय झन्डाको तर्फ एकजुट भएर आउन आग्रह गरेका छन्। शाहीले भने, “आयोजक राप्रपा हो, तर हामी राप्रपाको झन्डामै सीमित छैनौँ। राष्ट्रिय झन्डामा जोसुकै साथीहरू हुनुहुन्छ, सबैलाई एकैठाउँमा आउनुस्।”
उनले जेनजी आन्दोलनको स्मरण गर्दै त्यसका नतिजा र सम्झौताप्रति आलोचना गरे। शाहीले प्रश्न उठाए, “७५ जनाले ज्यान फालेका थिए, तर जेएन-जीको अपेक्षा अनुसार काम हुन सकेन। यसबारे प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्नेछ।”
शाहीले प्रदर्शनका क्रममा राखिने मागहरूमा संविधान संशोधन, प्रदेश खारेजी, हिन्दू राज्यको बहाली, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय, भ्रष्टाचारीलाई आजीवन कारावास र जेनजी आन्दोलनका हत्याराको कारबाही समावेश रहेको बताए।
उनले सबै पक्षलाई राजा, जेनजी र दलबीच त्रिपक्षीय सम्झौता गर्न र आफूहरूले उठाएको एजेन्डामा समर्थन गर्नेहरूलाई एकैठाउँमा उभिन आह्वान पनि गरे।












