पार्टी कार्यालय च्यासलमा एमाले कार्यकर्ताबीच झडप, प्रतिनिधि छनोटमा असन्तुष्टि

User Image Prime TV News एक महिना अगाडि
Image of पार्टी कार्यालय च्यासलमा एमाले कार्यकर्ताबीच झडप, प्रतिनिधि छनोटमा असन्तुष्टि

काठमाडौ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो पार्टीका कार्यकर्ताबीच झडप भएको छ।

आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरूले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै च्यासल पुगेका थिए। उनीहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्नो माग राख्ने क्रममा च्यासलमा उपस्थित अर्को समूहसँग हात हालाहाल भएको बताइएको छ।

एमालेको महाधिवेशन मंसिर २७ गते भक्तपुर सल्लाघारीमा उद्घाटन हुँदैछ। देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन्। तर आदिवासी जनजाती लोकतान्त्रिक महासंघका असन्तुष्ट नेताहरू प्रतिनिधि छनोटको प्रक्रियामा लोकतान्त्रिक आधार नपुगेको र डेढ वर्षसम्म विधि नमिलाइएको भन्दै आपत्ति जनाएका थिए।

पार्टीभित्रको यो असन्तुष्टि र झडपले महाधिवेशनअघि तनाव सिर्जना गरेको छ। यस अघि एमाले महाधिवेशनमा अध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेका इश्वर पोखरेलले पनि महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया असन्तुष्टि जनाउदै आएका छन् । यस बिषयमा पोखरेलले पार्टी अध्यक्ष केपी ओलीलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।