जेनजी पुस्ताले आफ्नो पार्टीप्रति भरोसा राखिरहेको माधब नेपालको भनाई
Prime TV News २ महिना अगाडि 
जनकपुर । नेपाल कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले जेनजी पुस्ताले आफ्नो पार्टीप्रति भरोसा राखिरहेको दाबी गर्दै नयाँ पुस्तालाई पार्टीभित्र आकर्षित गर्ने प्रयास तीव्र भएको संकेत दिएका छन्।
जनकपुरमा आयोजित पार्टी एकता सन्देश सभामा बोल्दै उनले देशभर युवाहरू, विशेषतः एसिड पीडित मुस्कान खातुनजस्ता नयाँ पुस्ताका प्रतिनिधिहरू नेकपामा सक्रिय रूपमा जोडिन थालेको दाबी गरे।
उनले जेनजी पुस्ताले उठाएका माग उचित छन् र त्यसलाई पूरा गर्न नेकपा निर्माण भएको बताए । नेपालले भने, "युवा पुस्ताले सोचेजस्तै मुलुक बदल्ने जिम्मा हामीले लिएका छौं।"
नेपालले मधेस, दलित, मुस्लिम र ज्येष्ठ नागरिकका मुद्दा आफ्नो पार्टीले प्राथमिकताका साथ उठाइरहेको उल्लेख गरे। जनकपुर आफूले नजिकबाट चिनेको क्षेत्र भएको बताउँदै उनले मधेसको अधिकार र मुक्ति सुनिश्चित गर्ने शक्तिका रूपमा नेकपालाई प्रस्तुत गरे।












