कांग्रेस-एमाले समीकरण मधेसमा भत्कियो, अब अन्य प्रदेशमा पनि फैलिन्छ: प्रचण्ड
Prime TV News एक महिना अगाडि 
जनकपुर । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेस प्रदेशमा कांग्रेस-एमालेको लोकप्रिय गठबन्धन भत्किएको र यहि परिवर्तन अब अन्य प्रदेशमा पनि फैलिन सक्ने बताएका छन्। जनकपुरमा आयोजित एकता सन्देश सभामा सम्बोधन गर्दै उनले एमाले-कांग्रेस गठबन्धन भत्किनु कुनै सामान्य घटना नभई राष्ट्रिय राजनीति नै दिशा परिवर्तनतर्फ अघि बढेको संकेत भएको दाबी गरे। उनले मधेसवादी दलहरूको साथ र नेकपाको समर्थनमा हाल मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेको छ, जसले लामो समयदेखिको सत्ता गणित उल्टिएको देखाएको छ। प्रचण्डले भने, “मधेसले देखाएको बाटो अब अन्य प्रदेशमा पनि देखा पर्छ। राजनीतिक समीकरण फेरिने क्रम सुरु भइसकेको छ।” प्रचण्डले आफू प्रधानमन्त्री हुँदा मधेसी जनताबाट प्राप्त समर्थन स्मरण गर्दै मधेसप्रति आफ्नो भरोसा अझै कायम रहेको स्पष्ट पारे। उनले मधेसलाई ‘अन्नको भण्डार’का रूपमा वर्णन गर्दै आधुनिक कृषि क्रान्ति अनिवार्य भएको बताए। उनले विदेशमा पीडामा बसिरहेका मधेसी युवालाई फर्काउने क्षमता कृषि विकाससँग जोडिएको बताउँदै कृषिमा सुधार नभए समृद्धिको कामना पाप समान हुँदो रछ भन्ने चेतावनी पनि दिए। उनले फास्ट ट्र्याक र हुलाकी सडक निर्माणमा गरिएको प्रगतिलाई उपलब्धि ठाने पनि ती परियोजनाहरू पूर्णरुपमा सम्पन्न नभएको तथ्य अझै जनतामाझ प्रश्न बनेको छ ।













