भदौ २३-२४ पछि देश प्रतिक्रान्ति तर्फ: ओली

User Image Prime TV News एक महिना अगाडि
Image of भदौ २३-२४ पछि देश प्रतिक्रान्ति तर्फ: ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ का घटनापछि नेपाल प्रतिक्रान्तिको दिशातर्फ अघि बढेको आरोप लगाएका छन्।

शनिबार ११औँ महाधिवेशनका लागि नवयुग ई–बुलेटिन सार्वजनिक गर्दै उनले वर्तमान सत्ता गठन विधि प्रक्रियाविहीन भएको दाबी गर्दै यसलाई लोकतन्त्रको उपहास गरेको बताए ।

ओलीले आगजनी, तोडफोड र लुटपाटलाई क्रान्तिका रुपमा चित्रण गर्ने प्रवृत्ति राष्ट्रिय दुर्भाग्य भएको बताए। उनले असंवैधानिक सरकार असंवैधानिक शैलीमै चलेको आरोप लगाउँदै विघटित प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्ने धारणा दोहोर्याए। यी घटनालाई उनले मुलुक र संविधानलाई गलत दिशातर्फ धकेलिएको संकेतका रूपमा प्रस्तुत गरे।

अध्यक्ष ओलीले हालको सरकारलाई अनुभवहीन र बिनाधारको संज्ञा दिंदै, निर्वाचन गराउने भनिएको सरकार नै चुनाव गर्न डराएको टिप्पणी गरे। उनले अपराधीहरू सडकमा, प्रहरी हतियारविहीन र निर्वाचनको सुरक्षा अभाव रहँदा चुनाव सम्भव नहुने स्पष्ट पारे।

उनले आयोग गठन गरेर सत्य छोप्ने प्रयास भइरहेको दाबी गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई 'यदि प्रमाण छ भने देखाऊ' भनेर चुनौती दिए। आफ्नोभन्दा केही महिना कान्छी प्रधानमन्त्रीलाई जेनजीको सरकार भनेर सम्बोधन गर्नुपर्ने परिस्थिति लोकतान्त्रिक अभ्यासको दुर्बलता भएको उनले बताए।