नागरिकता नपाउँदा युवतीको मृत्यु भएको घटनाको छानबिन गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । बर्दियामा नागरिकता नपाएर लामो समयसम्म प्रशासनिक प्रक्रियामा अल्झिएको एक युवतीको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री सुशीला कार्कीले गम्भीर ध्यान आकर्षण गराएकी छन्।
युवतीको मृत्युको केही समयमै उनका ६१ वर्षीय बुबाको पनि निधन भएपछि यो विषय राष्ट्रिय रूपमा संवेदनशील बनेको छ। प्रधानमन्त्री कार्कीले घटनाको कारण र पृष्ठभूमि पूर्णरूपमा स्पष्ट पार्न गृहमन्त्रीलाई छानबिन सुरु गर्न औपचारिक निर्देश दिएकी हुन्। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै एक युवतीले नागरिकता नपाएर अपमान, निराशा र बाध्यतामा परेको उल्लेख गरिन्। नागरिकताका लागि संघर्षकै बीच ज्यान गुमाउनु परेको खबरले आफू शोकाकुल भएको बताउँदै उनले लेखिन्, “यदि न्यायिक वा प्रशासनिक झन्झट नै कारण बनेका हुन् भने, प्रधानमन्त्रीका रूपमा म क्षमा चाहन्छु।” देशमा नागरिकता पाउनुपर्ने अधिकार कागजको प्रक्रिया मात्र होइन, सम्मान, अस्तित्व र भविष्यसँग जोडिएको विषय भएको उनले स्मरण गराइन्। कार्कीले घटना गम्भीर र दुखद रहेको उल्लेख गर्दै लैङ्गिक आधारमा हुने विभेद अब सह्य नहुने स्पष्ट गरिन् ।












