तोकिएकै मितिमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल
Prime TV News २ महिना अगाडि 
काठमाडौ । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा हुने स्पष्ट पारिएका छन्। नेपाल आर्थिक पत्रकार संघको १६औँ वार्षिक साधारणसभामा बोल्दै उनले कुनै पनि बहानामा चुनाव पछि धकेल्नु मुलुकलाई अनिश्चित दिशामा लैजाने चेतावनी दिए।
उनले हाल देशमा भ्रष्टाचारका घटनाहरू बढ्दै गइरहेको र शक्तिशाली समूहहरूले राज्यको पारदर्शी सेवा प्रवाहमा अवरोध पुर्याइरहेको बताए । यसलाई अन्त्य गर्दै सुशासन सुनिश्चित गर्न समयमै निर्वाचन अनिवार्य रहेको खनालले बताए।
खनालले भने, “निर्वाचन सार्नु भनेको देशलाई अस्थिरता तर्फ धकेल्नु हो। यसको असर आर्थिक गतिविधिदेखि सरकारी सञ्चालनसमेत धेरै क्षेत्रमा पर्छ। कुनै पनि हालतमा निर्वाचन तोकिएको मितिमै हुनुपर्छ, त्यसका लागि सरकार पनि प्रतिबद्ध छ।”
उनले सबै राजनीतिक दल र सर्वसाधारणको सहमतिमा सुरक्षित, स्वच्छ र निष्पक्ष वातावरणमा निर्वाचन गराइने जिकिर गरे। अन्तर्राष्ट्रिय समुदायले नेपालको लोकतान्त्रिक अभ्यासलाई सकारात्मक रूपमा हेर्दै आएको उल्लेख गर्दै उनले त्यो छवि जोगाउन समयमै निर्वाचन गर्नु आवश्यक रहेको बताए।
अर्थमन्त्री खनालले आगामी दिनमा सरकारले सुधारका थप कदम चाल्दै देशको राजनीतिक स्थिरता र आर्थिक विश्वसनीयता अभिवृद्धि गर्नुपर्ने आवश्यकता पनि औँल्याए।












