मधेस प्रदेशमा नयाँ मन्त्रिपरिषद् विस्तार : कांग्रेस, जनमत र एकीकृत समाजवादीका तीन मन्त्री शपथ ग्रहण
Prime TV News २ महिना अगाडि 
जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले मन्त्रिपरिषद् विस्तार गर्दै चारदलीय गठबन्धनलाई थप मजबुत बनाएका छन्। आइतबार, नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १-१ जना मन्त्री समावेश गरेर यादवले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
जनमत पार्टीका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका कनिष पटेललाई भने विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको छ।
नयाँ नियुक्त भएका तीनै मन्त्रीहरूले आजै शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण समारोहको आयोजना गर्दै उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
मन्त्रिपरिषद् विस्तारपछि मुख्यमन्त्री कृष्ण यादवले भने , "यस विस्तारले प्रदेश सरकारको कार्यशैलीलाई थप गतिशील र प्रभावकारी बनाउने छ। आगामी दिनमा सरकारको काम कारबाहीमा पारदर्शिता र जिम्मेवारीका साथ अघि बढ्न हामी प्रतिबद्ध छौं।"












