मधेश प्रदेशमा कृष्णप्रसाद यादवले मुख्यमन्त्रीको शपथ ग्रहण गरे

User Image Prime TV News एक महिना अगाडि
Image of मधेश प्रदेशमा कृष्णप्रसाद यादवले मुख्यमन्त्रीको शपथ ग्रहण गरे

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन्। यादव आगामी मंसिर २४ गते प्रदेश सभाबाट विश्वासको मत लिन तयारीमा छन्।

कांग्रेस संसदीय दलका नेता यादवलाई सात दलका ७७ प्रदेश सभा सदस्यको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो। उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरूले समर्थन गरेका छन्।

मधेश प्रदेशमा सरकार परिवर्तन संविधानको धारा १६८ को उपधारा ३ अनुसार भएको हो। यसअघि एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएका थिए । जसपछि प्रदेश सरकारको नेतृत्व कांग्रेस दलका यादवको जिम्मेवारीमा आएको हो।

गत कार्तिक २३ गते राति एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन र प्राप्त नगरे अर्को सरकार गठन गर्न आदेश दिएको थियो।

यादवले आजै सानो आकारको मन्त्रीमण्डल गठन गरेका छन् ।