राष्ट्र बैंकले कालोसूची प्रावधान र ऋण प्रक्रियामा सुधारको योजना अघि बढायो

User Image Prime TV News २ महिना अगाडि
Image of राष्ट्र बैंकले कालोसूची प्रावधान र ऋण प्रक्रियामा सुधारको योजना अघि बढायो

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले कालोसूची प्रावधानको समीक्षा गर्दै यसमा सुधार गर्ने प्रक्रिया अघि बढाएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहमा बोल्दै उनले मुलुकमा लगानी नबढ्नुमा कालोसूचीसमेत एक कारण भएको बताए।

गभर्नर पौडेलले हाल मुलुकमा तरलता प्रशस्त छ तर लगानी र क्रेडिट ग्रोथ अपेक्षाअनुसार बढ्न नसकेको बताए । यसै कारण राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो बनाएको र आगामी दिनमा लगानी वृद्धि हुने विश्वास पनि गभर्नर पौडेलले व्यक्त गरे।

उनले निर्माण क्षेत्रमा समूहमा गरिएको लगानीमा एउटाले गल्ती गर्दा सम्पूर्ण समूह कालोसूचीमा पर्ने समस्या हटाइने बताएका छन्। साथै, ऋणीहरूले धितो राखेर लोन लिने र लिलामी गर्दा कम मूल्यांकनमा बेच्ने प्रवृत्ति पनि रोकिने बताए।

गभर्नर पौडेलले निजी क्षेत्रको भ्रष्टाचार र बिचौलियाहरूको सक्रियतामा राष्ट्र बैंक गम्भीर रहने बताए। उनले भने, “कर्जा जसले लगानी गर्ने हो, त्यसले पाउनु पर्छ। कुनै पनि व्यक्तिले जबरजस्ती अर्काको धितो सस्तोमा बेचेर फाइदा उठाउने काम भ्रष्टाचार हो र राष्ट्र बैंकले यसलाई क्षम्य रूपमा लिनेछैन।”