२१ फागुन प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थल तयारीमा, ३ हजार ५१८ अति संवेदनशील
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आगामी २१ फागुन हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९२६ मतदानस्थल तय गरिएको छ।
गृह मन्त्रालय, निर्वाचन आयोग र सुरक्षा निकायहरूको रिपोर्ट तथा मतदाता संख्यालाई आधार बनाएर मतदानस्थलहरूको संख्या निर्धारण गरिएको हो। सुरक्षाको दृष्टिले मतदानस्थलहरू सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ।
अहिलेसम्मको तयारी अनुसार ३ हजार ५१८ मतदानस्थल अति संवेदनशील, ४ हजार ५२९ संवेदनशील र २ हजार ८७९ मतदानस्थल सामान्य सूचीमा छन्। तराईका जिल्लाहरू मुख्य रूपमा संवेदनशील र अति संवेदनशीलको सूचीमा परेका छन्।
मतदानस्थलहरूको सुरक्षा सुनिश्चित गर्न तीन स्तरको सुरक्षा योजना बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी, गुप्तचर र म्यादी प्रहरी खटाइनेछन्, दोस्रो घेरामा सशस्त्र प्रहरी बल परिचालित हुनेछ र सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटाइनेछ।
नेपाली सेनाको परिचालनका लागि राष्ट्रपतिबाट स्वीकृति दिइसकिएको छ। यस पटक म्यादी प्रहरीको भर्ती प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। करिब १ लाख ३२ हजार म्यादी प्रहरी निर्वाचन सुरक्षा प्रहरी को रूपमा ४० दिनका लागि परिचालन हुनेछन्।
सुरक्षा चुनौती बढ्नुको मुख्य कारणमा भदौमा भएको जेनजी आन्दोलन र त्यसपछिका घटनाहरू छन्। आन्दोलनका क्रममा १४ हजारभन्दा बढी कैदी फरार , प्रहरीका १ हजार २७१ हतियार लुटपाट र ठूलो संख्यामा गोली हराउनुलाई निर्वाचनको चुनौतीकव रुपमा लिइएको छ । यी कारणले मतदानस्थलहरूको सुरक्षा संवेदनशीलता बढाइएको बताइएको छ ।












