मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा चुनौती

User Image Prime TV News एक महिना अगाडि
Image of मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा चुनौती

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले गत आर्थिक वर्ष २०८१/८२ मा मानव अधिकार उल्लङ्घन सम्बन्धी १०५ नयाँ उजुरी दर्ता भएको र २८० उजुरीमाथि अनुसन्धान सम्पन्न भएको जानकारी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रतिवेदनअनुसार अनुसन्धानका क्रममा ४९ उजुरीगत सिफारिस र ८ नीतिगत सिफारिस सरकारलाई पठाइएको छ भने दुई जनालाई विभागीय कारबाहीको सिफारिस गरिएको छ। एक वर्षमा १५० उजुरी तामेलीमा राखिएका छन्।

आयोगले न्याय सुनिश्चित गर्ने क्रममा ७ जना पीडित र पीडित परिवारलाई ४७ लाख ७२ हजार ४८९ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई सिफारिस गरेको जनाएको छ। तथापि, सिफारिस कार्यान्वयनको अवस्था भने सन्तोषजनक नभएको जनाएको छ ।

आयोगका अनुसार पूर्ण कार्यान्वयन १३.२९%, आंशिक कार्यान्वयन ३४.१२%, र कार्यान्वयन प्रक्रियामा ५२.६०% सिफारिसहरू रहेको बताइएको छ । प्रतिवेदनअनुसार आयोगले २२६ पटक अनुगमन गरेको छ।

अनुगमनमा नागरिक तथा राजनीतिक अधिकार जस्तै कैदी बन्दीको अधिकार, न्याय प्रशासन, शान्तिपूर्ण प्रदर्शनको अधिकार, साथै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार जस्तै स्वास्थ्य, स्वच्छ वातावरण, उपभोक्ता अधिकार र विपद् प्रभावितको अधिकार समेटिएका छन्।