पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: अख्तियारले विशेष अदालतमा मुद्दा दायर

User Image Prime TV News एक महिना अगाडि
Image of पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार: अख्तियारले विशेष अदालतमा मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा भ्रष्टाचार भएको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यस प्रकरणमा, तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य लगायत ५५ जनालाई विपक्षी बनाइएको छ। पूर्वमन्त्रीमध्ये, माओवादी नेता पोष्टबहादुर बोगटीको यसअघि नै निधन भइसकेको छ ।

उनी त्यसबेला पर्यटनमन्त्री थिए। कांग्रेस नेता डा. रामशरण महत अल्जाइमरका कारण सक्रिय राजनीतिमा छैनन्। एमाले नेता भीम आचार्य, विघटित प्रतिनिधिसभा सदस्य थिए र उनी पार्टीको उपाध्यक्ष पदका दाबेदार पनि हुन्। दीपक अमात्य, तत्कालीन पर्यटनमन्त्री, झलनाथ खनालका स्वकीय सचिव भएर मन्त्री बनेका थिए।

रामकुमार श्रेष्ठ भने खिलराज रेग्मी नेतृत्वको सरकारमा माओवादी अध्यक्ष प्रचण्डको सिफारिसमा पर्यटनमन्त्री बनेका थिए। उनी यसअघि अख्तियारले दायर गरेको अकूत सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भइसकेका छन्।

त्यस्तै, १० जना तत्कालीन सचिवहरू पनि यस मुद्दामा संलग्न छन्। अख्तियारका अनुसार, यो भ्रष्टाचार प्रकरणले सार्वजनिक कोषमा करिब ८ अर्ब रुपैयाँको क्षति पुर्‍याएको बताइएको छ। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले मुद्दा हाल रुजु भइरहेकाले दर्ता हुन बाँकी रहेको जानकारी दिए।