क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भक्तपुरको नलिन्चोक हेलिप्याड निर्माणमा देखिएको भ्रष्टाचार प्रकरणमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अधिकारीलाई थुनामा पठाउन आदेश दिएको हो। सोही मुद्दामा तत्कालीन निर्देशक मुरारी भण्डारीलाई पाँच लाख धरौटी तिरी रिहा हुन सक्ने आदेश भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १३ करोडभन्दा बढी रकम हिनामिना भएको ठोस प्रमाण प्रस्तुत गर्दै अधिकारीसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
उनीहरूलाई १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गराएको आरोप लागेको छ। मुद्दामा ६ जना व्यक्तिसँगै एक परामर्शदाता कम्पनीलाई समेत प्रतिवादी बनाइएको छ।
१७ करोड लागत अनुमानमा निर्माण गरिएको भनिएको नलिन्चोक हेलिपोर्ट आजसम्म पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। २०८१ असार ७ गते व्यवसायिक उडानका लागि खोलिएको घोषणा गरिए पनि हेलिपोर्ट सुरक्षित, सक्षम र आवश्यक पूर्वाधारसहित सञ्चालनयोग्य नरहेको अख्तियारको निष्कर्ष छ
परियोजना बिना लाभ लागत विश्लेषण अघि बढाइएको, कानुनी प्रक्रिया बेवास्ता गरिएको र अस्वाभाविक खर्च देखिएको आयोगको ठहर छ।












