नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड ७ दिन आंशिक बन्द

User Image Prime TV News एक महिना अगाडि
Image of नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड ७ दिन आंशिक बन्द

काठमाडौ । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्डमा निर्माण कार्य अपेक्षित गतिमा अघि नबढेपछि सरकारले ७ दिनका लागि सडक आंशिक बन्द गर्ने निर्णय गरेको छ।

प्रगति सुस्त र काम रोकिएकोजस्तै देखिएपछि सरकारले अब कडाइपूर्वक व्यवस्थापन गर्दै यातायात आवागमन नियन्त्रण गरेर निर्माण तीव्र बनाउने योजना अघि सारेको हो। 

काठमाडौं र धादिङ प्रशासन कार्यालयले संयुक्त सूचना जारी गर्दै मङ्सिर २४ देखि पुस १ गतेसम्म बिहान १०:३० देखि दिउँसो ३:३० बजेसम्म सडक बन्द रहने जानकारी दिएका छन्।

यस अवधिमा नागढुङ्गादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रसम्म सवारी आवागमन रोकिँदैछ। काठमाडौंबाट नौबिसे जाने सवारी साधन नागढुङ्गा चेकपोस्टमै थुनिनेछन्। मुग्लिङतर्फबाट आउने सवारी भने खानीखोला, जुंगेखोला, गल्छी, बैरेनी र मासटार क्षेत्रमा रोक्न प्रशासनले निर्देशन दिएको छ।

एम्बुलेन्स, प्रहरी, सेना, दमकल, शववाहन जस्ता अत्यावश्यक सेवाका सवारी साधनलाई मात्र ट्राफिक प्रहरीले सहजीकरण गरी पास गराउनेछ। अन्य साना तथा मझौला सवारीले आवश्यकता परे वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन्।

उपलब्ध विकल्पहरूमा सीतापाईला–भिमढुङ्गा, रामकोट–धार्के तथा सामाखुसी–टोखा–छहरे मुख्य वैकल्पिक रूट सूचीकृत छन्। रोकिएका सबै सवारीलाई दिउँसो ३:३० पछि मात्र मार्ग खुला गरिने सूचनामा उल्लेख छ।