एनपीएल दोस्रो संस्करणमा आज विश्राम, भोलि सुदूरपश्चिम र विराटनगर पहिलो क्वालिफायरमा भिड्दै
Prime TV News एक महिना अगाडि काठमाडौ । नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा आज कुनै खेल हुने छैन।
लिग चरणका सबै खेल सकिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मैदान मर्मत तथा व्यवस्थापनका लागि एक दिनको विश्राम दिइएको आयोजकले जनाएको छ। प्रतिस्पर्धाको पहिलो क्वालिफायर भोलि मंसिर २३ गते अपराह्न ४ बजे सुरु हुनेछ ।
जहाँ सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स फाइनलको टिकटका लागि आमने सामने हुनेछन्। लिग चरणमा स्थिर प्रदर्शन गरेको सुदूरपश्चिम ६ जितसहित शीर्ष स्थानमा पुगेको थियो भने विराटनगर ५ जितका साथ दोस्रो स्थानमा रहेर क्वालिफायरमा प्रवेश गरेको हो।
लिग चरणमा सुदूरपश्चिमले मजबुत प्रदर्शन गर्दै छवटा खेल जित्यो। उसले भोग्नुपरेको एक मात्र हार विराटनगरकै हातबाट आएको थियो । जसले भोलिको खेललाई थप रोचक बनाउँछ। यता विराटनगर किंग्सले चितवन र लुम्बिनीविरुद्ध हार बेहोरे पनि महत्वपूर्ण क्षणमा उत्कृष्ट खेल प्रस्तुत गर्दै दोस्रो स्थान सुरक्षित गरेको थियो।
पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो अवसरका लागि एलिमिनेटरका विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यसैले भोलिको खेल दुवै टोलीका लागि अत्यन्तै निर्णायक हुनेछ।













