युक्रेन शान्ति वार्ता जटिल बन्दै, ट्रम्प निराश
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्यका लागि चलिरहेको शान्ति वार्ताबाट आफू निराश भएको भन्दै प्रक्रिया अघि नबढे अमेरिकी भूमिका कमजोर हुन सक्ने संकेत दिएका छन्।
उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले तयार गरेको शान्ति प्रस्ताव नै नपढेको दाबी गर्दै वार्ताको प्रभावकारिता प्रश्नमा परेको बताएका छन्। वासिङटन डीसीस्थित केनेडी सेन्टरको एक कार्यक्रममा पत्रकारले शान्ति वार्ताको प्रगतिबारे सोध्दा ट्रम्पले भने, “म अलिक निराश छु।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अहिलेसम्म शान्ति प्रस्ताव पढेकै छैनन्।” उनका अनुसार अमेरिकी र युक्रेनी प्रतिनिधिबीच अमेरिकाको मियामीमा भएको तीनदिने वार्ता कुनै ठोस नतिजा विना टुंगिएको थियो। ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि दोहा फोरममा सम्बोधन गर्दै युक्रेन शान्ति प्रक्रियाप्रति वितृष्णा व्यक्त गरे।
उनले युक्रेनलाई 'रुसभन्दा पनि बढी भ्रष्ट' भनेका थिए र जेलेन्स्कीलाई 'धेरै राम्रो प्रचारक' भन्दै व्यंग्यसमेत गरेका थिए। ट्रम्प जुनियरले यदि युक्रेनले अमेरिकाको प्रस्ताव स्वीकारेन भने वाशिङटनले भूमिका फिर्ता लिन सक्ने संकेत गरे ।
मियामी वार्ता सकारात्मक वातावरणमा चले पनि युक्रेन केही संवेदनशील मुद्दामा पछि हट्न तयार नभएको बताइएको छ। रुसले कब्जा गरेका भू–भागमाथिको आफ्नो दाबी, सुरक्षा ग्यारेन्टी र दीर्घकालीन व्यवस्थाका विषयमा दुवै पक्षबीच सहमति जुट्न नसक्दा शान्ति वार्ता कठिन बन्दै गएको छ।












