लगातार तीन दिनको गिरावटपछि सुनको मूल्यमा सुधार, चाँदी अझै सस्तो

User Image Prime TV News २ महिना अगाडि
Image of लगातार तीन दिनको गिरावटपछि सुनको मूल्यमा सुधार, चाँदी अझै सस्तो

काठमाडौ । निरन्तर तीन दिनसम्म घट्दै आएको सुनको मूल्यमा आज थोरै सुधार आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ। यसअघि बिहीबार, शुक्रबार र आइतबार सुनको मूल्य लगातार ओरालो लागेको थियो। आइतबार मात्र तोलामा २०० रुपैयाँ घटेको थियो भने बिहीबार ८०० रुपैयाँ र शुक्रबार ९०० रुपैयाँले सुन सस्तिएको थियो।

महासंघका अनुसार हालको मूल्य वृद्धि सानो भए पनि बजारमा स्थिरताको संकेत देखिन थालेको छ। यद्यपि, हालसम्मकै सबैभन्दा उच्च मूल्य भने गत असोज ३१ मा तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने थप घटेको छ।

चाँदी प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ५८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। सुन चाँदी बजारमा हालको उतार–चढावले उपभोक्ता तथा व्यवसायीको चासो अझै बढाएको छ।