प्रतिनिधिसभा पुनर्स्थापनाको विषयले नेपाली कांग्रेसभित्र तरङ्ग
Prime TV News २ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र प्रतिनिधिसभा पुनर्स्थापनाको विषयले तरङ्ग पैदा गरेको छ। पार्टीका ८ निवर्तमान सांसदले आइतबार प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। रिट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस दिएर दायर गरिएको हो।
प्रतिनिधिसभा विघटनपछि कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र सांसदहरू दीपक खड्का, नागिना यादव, शान्ति बिक, जाबेदा खातुन लगायतका ८ जना सांसद पार्टीको केन्द्रीय कार्यसमिति निर्णयविपरीत सर्वोच्च पुगेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिर ६ गते निर्णय गर्दै फागुन २१ गते निर्वाचनमा जाने निष्कर्ष निकालेको थियो। बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भए पनि यसबारे सर्वोच्चमा विचाराधीन भएकाले अन्तिम निर्णय अदालतबाटै आउने उल्लेख गरेको थियो।
तर रिट पेस गर्ने सांसदहरूले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै अदालतमा गए। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सांसदहरूको निर्णय व्यक्तिगत स्वतन्त्रताको प्रयोग भएको बताउँदै, पार्टीले औपचारिक रूपमा रिट दायर गर्ने निर्णय नगरेको स्पष्ट पारे।
सांसदहरूले पहिले नै हस्ताक्षर संकलन गरेर पुनर्स्थापनाको पहल गरेका थिए तर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रोक लगाएका थिए। प्रवक्ता महतका अनुसार, “संस्थागत निर्णय नभएकोले पार्टीको नाममा गएको भन्न मिल्दैन। यो सांसदहरूको व्यक्तिगत निर्णय हो।”
पार्टीका अन्य नेताहरू पनि रिट व्यक्तिगत भएको उल्लेख गर्दै, पार्टीको आधिकारिक निर्णय भने फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने नै रहेको बताए।












