फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा ११४ दल सहभागी हुने
Prime TV News एक महिना अगाडि काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११४ राजनीतिक दलले भाग लिने भएका छन्। निर्वाचन आयोगमा दर्ता भएका १४३ दलमध्ये निर्वाचन प्रयोजनका लागि १२० दलले आवेदन दिएका थिए भने अन्ततः ११४ दलले चुनावमा सहभागिता जनाउने तयारी गरेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, यी दलमध्ये १०२ दलले एकल निर्वाचन चिह्न र १२ दलले संयुक्त निर्वाचन चिह्न प्रयोग गर्नेछन्। आयोगले कुल १०७ वटा चुनाव चिह्न उपलब्ध गराएको छ।
प्रदान गरिएका प्रमुख चुनाव चिह्नहरूमा सूर्य, रुख, तारा, घण्टी, हलो, ढल्केको छाता, साइकल, मादल, गितार, मोटरसाइकल, खुकुरी, ट्रयाक्टर, रेडियो, बस, स्कुटर, बुल्डोजर, परेवा, कोदालो, मकैका बाला, डुङ्गा र भैँसी लगायत अन्य धेरै प्रतीकात्मक चिन्हहरू रहेका छन्। भट्टराईले भने, “चुनाव चिह्नले दलको पहिचान मात्र नभई मतदाताले मतदान गर्दा सजिलो हुने सुनिश्चित गर्छ। प्रत्येक दललाई आफ्नो विशिष्ट चिह्न प्रचार–प्रसारमा प्रयोग गर्न दिइनेछ।”
निर्वाचन आयोगका अनुसार, यी चिह्नले मतदातालाई सही दल र उम्मेदवारको चयनमा सहज हुने जनाएको छ ।













