शेयर बजार लगातार छैटौँ दिन पनि गिरावट, नेप्से सूचक ३.०२ अंक घटेर २६०६ मा

User Image Prime TV News एक महिना अगाडि
Image of शेयर बजार लगातार छैटौँ दिन पनि गिरावट, नेप्से सूचक ३.०२ अंक घटेर २६०६ मा

काठमाडौ । शेयर बजार लगातार छैटौँ दिन पनि गिरावटमै रहँदा सोमबार नेप्से सूचक ३.०२ अंक घटेर २६०६ मा झरेको छ।

मंसिर ११ देखि सुरु भएको ओरालो यात्रामा नेप्से १७० अंकले कमजोर भइसकेको छ । जसको प्रमुख कारण राजनीतिक अस्थिरता र आगामी चुनावबारे अनिश्चितता भइरहेकाे बताइएको छ । सोमबार बजारमा ९९ कम्पनीको मूल्य बढे पनि १४७ कम्पनी घटे र १२ स्थिर रहे । कारोबार रकम अघिल्लो दिनको ५ अर्ब ३३ करोडबाट ४ अर्ब ६६ करोडमा झरेर बजारमा तरलता र सक्रियता दुवै घटेको संकेत दिएको छ ।

समूहगत सूचकमा मिश्रित अवस्था देखिँदा जलविद्युत्, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूह अलि उकालो लागे भने बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स र अन्य समूहमा गिरावट आयो।

बजार समग्र रूपमा कमजोर रहे पनि अपर स्याङ्गे हाइड्रोपावर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेकका सेयर मूल्य १० प्रतिशतले उक्लिए, जबकि इङ्वा हाइड्रोपावर र पियोर इनर्जीमा उल्लेख्य वृद्धि तथा सपोर्ट माइक्रोफाइनान्स, मेन्छियाम हाइड्रोपावर र गुहेश्वरी मर्चेन्ट बैंकमा उल्लेख्य गिरावट देखियो।

सोमबार सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, सागर डिस्टिलरी, पियोर इनर्जी, राधि विद्युत् र झापा इनर्जी परेका छन्।