१६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पुष ३ गतेदेखि बुटवलमा हुँदै
Prime TV News एक महिना अगाडि 
बुटवल । १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आगामी पुष ३ गतेदेखि बुटवलमा आयोजना हुने भएको छ ।
रुपन्देही उद्योग संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पौष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आयोजना गर्न लागिएको जनाएको हो ।
संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने नाराका साथ बुटवल स्थित अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन,नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुहरुका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन हुने महोत्सव आयोजन मूल समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिए ।
स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उदेश्यका साथ प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ । प्रर्दशनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश बताइएको छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छाला जुत्ता, खाद्यान्न, सूचना प्रविधिलगायतका करिव ५०० स्टलहरु रहने छन् भने प्रदर्शनीको करिव ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोड रुपैयाँ बराबरको कारोवार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।













