पोखरेलको अवधारणा : प्रतिनिधिसभा विघटन ‘आपतकालीन विकल्प’, ओलीमाथिको स्थानहद हटाउन माग

User Image Prime TV News एक महिना अगाडि
Image of पोखरेलको अवधारणा : प्रतिनिधिसभा विघटन ‘आपतकालीन विकल्प’, ओलीमाथिको स्थानहद हटाउन माग

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका दाबेदार ईश्वर पोखरेलले पार्टी नेतृत्व र हालको राजनीतिक निकासबारे फरक धारणा सार्वजनिक गरेका छन्।

११औँ महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा बुझाइएको अवधारणा–पत्रमा उनले प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठनलाई “संविधानलाई न्यून क्षतिमा बचाउने आपतकालीन उपाय” भएको बताएका छन्।

पोखरेलले अन्तरिम सरकारलाई चुनाव गराउन सहयोग र दबाब दिनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद हटाउन माग गरेका छन्। उनका अनुसार नेतृत्वविरुद्धको उक्त निर्णयले पार्टीभित्र अनावश्यक तनाव र विभाजन बढाएको छ।

अवधारणा–पत्रमा पोखरेलले एमालेका कार्यक्रम र गतिविधिमाथि सडक–केन्द्रित शक्तिहरूले नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए। उनले यस्तो परिस्थितिमा “निर्वाचनमार्फत मात्र स्पष्ट राजनीतिक निकास संभव” रहेको दाबी गर्दै समयमै चुनावको तयारीमा जुट्न पार्टीलाई आग्रह गरेका छन्।

यसैबीच, अध्यक्ष ओलीले भने प्रतिनिधि सभा पुनःस्थापनालाई वैधानिक समाधानको बाटो बताउँदै आएका छन्। तर पोखरेल भन्छन्,“विशेष परिस्थितिले चुनाव हुन नसकेमा मात्र राजनीतिक बाध्यताका कारण पुनःस्थापनातर्फ जानुपर्ने हुन्छ।”