मतदाता नामावली सच्याउन मंसिर २६ सम्म निवेदन दिन निर्वाचन आयोगको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन मंसिर २६ गतेसम्म निवेदन दिन सबै मतदातालाई आग्रह गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै आयोगले अनलाइन प्रणालीमार्फत निवेदन, सूचना तथा उजुरी दिने सुविधाको प्रभावकारी प्रयोग गर्न सरोकारवालासँग अपिल गरेको हो।
आयोगका अनुसार नाम, उमेर, जन्ममिति, ठेगाना वा अन्य विवरणमा त्रुटि रहेका मतदाताले घरमै बस्दै अनलाइन प्रणाली प्रयोग गरी सुधारका लागि निवेदन दिन सक्नेछन्। यसले समय र श्रम दुवै बचत हुने आयोगले जनाएको छ।
यस्तै, आयोगले केही मतदानस्थल पुनरावलोकन तथा समायोजन गरिएकाले मतदाताले आफूले मतदान गर्ने स्थल यकिन गर्न अनुरोध गरेको छ। मतदाताले आफ्ना वडाभित्र रहेका उपलब्ध मतदानस्थलमध्ये आफूलाई पायक पर्ने स्थल चयन गर्न अनलाइन माध्यम वा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।
आगामी निर्वाचन प्रक्रिया सहज, पारदर्शी र व्यवस्थित बनाउन मतदाताको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै आयोगले समयमै विवरण जाँच गरी आवश्यक परे सुधार गर्न सबैलाई आग्रह गरेको छ।














