एमाले महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक अन्तिम चरणमा, २६१३ जना सहभागी हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिकको काम अन्तिम चरणमा पुगेको छ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिहरूको विवरण छुट्याउने, जाँच गर्ने र कार्ड तयार पार्ने कार्य तीव्र गतिमा भइरहेको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टोली निरन्तर रूपमा प्रतिनिधिसम्बन्धी अभिलेख अद्यावधिक गर्न व्यस्त छ।
अधिकारीका अनुसार महाधिवेशनमा कुल २,६१३ जना सहभागी हुनेछन्। तीमध्ये २,१५४ जना प्रतिनिधि विभिन्न तहबाट निर्वाचित भएर आउनेछन् भने १०८ जनालाई केन्द्रबाट मनोनयन गरिनेछ। यसरी मनोनयनसहित प्रतिनिधिको कुल संख्या २,२६२ पुग्नेछ।
एमालेले तत्कालिन नेकपा (एस) लक्षित ‘घरफर्क अभियान’बाट पार्टीमा फर्केकामध्ये तीन जनाले प्रतिनिधिमा समावेश गरिदिन आग्रह गरेका छन्। उनीहरूको विषयमा अन्तिम निर्णय पार्टी सचिवालयले गर्ने भएको छ।
धनकुटा र ओखलढुंगामा प्रतिनिधि छनोट प्रक्रिया पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार नरहेको भन्दै उठेको विवाद संगठन विभागले समाधान गरेको छ। केन्द्रको निर्देशनअनुसार मापदण्ड पूरा गरी दुवै जिल्लाले सर्वसम्मत रूपमा नयाँ प्रतिनिधि चयन गरेर पठाएका छन्।
यसबाहेक तीन अन्य जिल्लाबाट पनि प्रतिनिधि छनोटसम्बन्धी उजुरी आएपछि छानबिन अघि बढाइएको छ। मापदण्ड नपुग्ने प्रतिनिधिको कार्ड रोक्ने तयारी विभागले गरेको छ । महाधिवेशनमा प्रतिनिधिका अतिरिक्त ३५१ जना सल्लाहकार परिषद्का सदस्य सहभागी हुनेछन्।
परिषद्मा कुल ३७६ सदस्य रहेकामा २५ जनाले प्रतिनिधिको रूपमा स्थान पाएका छन्। बाँकी सदस्यलाई सहभागीका रूपमा प्रवेश दिने व्यवस्था मिलाइएको छ। यसरी प्रतिनिधि र सहभागी गरी कुल २,६१३ जना महाधिवेशनमा उपस्थित हुनेछन्।
केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधि परिचय–पत्र छपाइको काम पनि द्रुत गतिमा अघि बढिरहेको छ। अहिलेसम्म करिब ७० प्रतिशत कार्ड छपाइ सकिएको छ। सबै प्रतिनिधि अद्यावधिक र कार्ड वितरणको काम मंसिर २५ गतेभित्र पूरा गर्ने लक्ष्य रहेको बताइएको छ।













